पुस १८, २०७९
काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई चिसोकै कारण कुनै नागरिकले ज्यान गुमाउने स्थिति आउन नदिने गरी काम गर्न निर्देशन दिएका छन् । जाडोमा तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा जुट्न गृहमन्त्रीले सोमबार निर्देशन दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्लामा खटिने सुरक्षाकर्मीहरुलाई निर्देशनको क्रममा गृह मन्त्रालयमा मन्त्री लामिछानेले भर्चुअल सम्बोधन गर्दै बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन विपद् व्यवस्थापनका तयारीमा लाग्न निर्देशन दिएका हुन् । यसका लागि आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने बताएका छन् । साथै विपद्को सामना गरिरहेका नागरिकसामु सकेसम्म आफैं पुग्न र दु:खमा परेकाहरुलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धताका लागि पनि प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
नागरिकका गुनासो तथा समस्यालाई सधैं उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन पनि गृहमन्त्रीले निर्देशन दिएका छन् ।
यस्तै, कुनै पनि व्यक्ति वा संयन्त्रको दबाब र प्रभावमा नपर्न समेत गृहमन्त्रीको निर्देशन छ । नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती भन्ने गुनासोलाई हटाउन पनि उनले निर्देशन दिएका छन् । सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मन्त्रालयबाट आवश्यकतानुसार थप सहजीकरण गरी मौजुदा कानुन, साधन र स्रोतको सीमामा रही सम्पादन गर्न सकिने सुधार एवं प्रक्रिया सरलीकरणका विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना बनाइ पठाउन उनले निर्देशन दिएका छन् ।
यस्तै, मुलुकभर मिटरब्याजीको मारमा परेका नागरिकहरुले अझै यसबापत सुनुवाइ नभएको गुनासो गरिरहेकाले यसप्रति पनि सम्बन्धित अधिकारीहरुको ध्यानाकर्षण हुनुपर्ने उनको सुझाव थियो। जिल्ला प्रशासन कार्यालयहरुवाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवाका साथै प्रहरीमार्फत हुने शान्ति सुरक्षा लगायत नियमित सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय प्रमुखहरुलाई मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।


