
१२ कात्तिक, कपिलवस्तु। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।बिहीबार लुम्बिनी प्रदेशमा आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभामुख घर्तीले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिएका हुन् ।उनका अनुसार विधेयकलाई पूर्णता दिन बागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव संकलन भइरहेको छ । आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा सरकारले विधेयक प्रदेशसभामा पेश गर्ने तयारी गरेको बताए ।‘आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी भइरहेको छ । यसका लागि वागमती र गण्डकीलगायत प्रदेशबाट सुझाव सङ्कलन भइरहेको छ,’ उनले भने ।सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक सुझाव र परिमार्जनसहित विषयगत समितिमा पठाइने उनको भनाइ छ । विधेयकलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढाउँदै सबै पक्षको भावना समेट्ने गरी छलफल गरिने सभामुख घर्तीले बताए ।
