विजयनगरमा नागरिक सुनुवाई : शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्धता

0
2
Oplus_16908288
ads वन्य जन्तु संरक्षण

विजयनगर, १८ कात्तिक ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-१ नेवलगञ्जमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी सचेतना एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा नागरिक सुनुवाई कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले जानकारी दिए ।  कार्यक्रममा स्थानीय नागरिकले विकास निर्माण, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न समस्या र गुनासा राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्ला प्रशासन कार्यालय नागरिकलाई निरन्तर, सहज र प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणका लागि प्रशासन निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै विकास निर्माणका काममा समेत सम्बन्धित निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको बताए ।

यस क्षेत्रका नागरिकले भोग्दै आएको फोन नेटवर्किङ समस्याबारे नेपाल टेलिकमका प्रमुखसँग पहल तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उनले जिल्ला प्रशासनबाट प्रवाह हुने सेवालाई थप सहज र प्रभावकारी बनाउँदै लगिएको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले नागरिकलाई सुरक्षित राख्न प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । उनले लागूऔषध दुर्व्यसन, कुलत, बाल विवाह, बहुविवाह, घरेलु हिंसा, अनलाइन नेटवर्किङमार्फत हुने ठगी, साइबर अपराध तथा सडक दुर्घटना लगायतका विषयमा सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन काम गरिरहेको उल्लेख गर्दै उनले अपराध नियन्त्रणमा प्रहरी र नागरिक दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

सार्वजनिक सुनुवाईका क्रममा स्थानीयले निर्माणाधीन पुल तथा सडकको काममा देखिएका समस्या, स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता, प्रहरी चौकी स्थापनाको आवश्यकता, चोरी तथा तस्करी नियन्त्रण, फोन नेटवर्कको समस्या, नदी तथा खोलाको कटान र प्रहरी गस्ती बढाउनुपर्ने माग राखेका थिए ।

स्थानीयले विकास निर्माणका अधुरा काम समयमै सम्पन्न गर्न, आधारभूत स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउन तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा प्रशासन, प्रहरी तथा स्थानीय नागरिकबीच शान्ति सुरक्षा, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा १ का वडा अध्यक्ष इन्नर थारु, २ का वडा अध्यक्ष नेपाल चाैधरी, स्थानीय लगायत सराेकारवालाकाे उपस्थिति थियोे ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here