राष्ट्रसेवक आवि : दिवा खाजामा पोषण होइन, चिउरा मात्रै ! खाजा बजेट कहाँ खर्चियो ?

0
6

कृष्णनगर, २२ जेष्ठ । राष्ट्रसेवक

कृष्णनगर नगरपालिका-१० बकौलीस्थित राष्ट्रसेवक आधारभूत विद्यालयमा विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत विद्यार्थीलाई चिउरा मात्रै खुवाएकाे विषय बाहिर आएको छ ।  

स्थानीय स्रोतका अनुसार विद्यालयमा पोषणयुक्त तथा सन्तुलित खाजाको व्यवस्था हुनुपर्ने भए पनि विद्यार्थीलाई खाजाको नाममा चिउरा मात्र उपलब्ध गराएकाे हाे । अभिभावकहरूले यस प्रकारको खाजाले बालबालिकाको आवश्यक पोषण आवश्यकता पूरा गर्न नसक्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाल सरकारको विद्यालय दिवा खाजा कार्यक्रमको उद्देश्य विद्यार्थीको पोषण स्तर सुधार गर्ने, विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने तथा सिकाई उपलब्धी बढाउने रहेको छ । कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिकामा स्थानीय तथा पोषणयुक्त खाद्य सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई केवल चिउरा वितरण गरिनु कार्यक्रमको उद्देश्य र मर्मविपरीत भएको स्थानीयवासीको भनाई छ । उनीहरूले सम्बन्धित निकायले तत्काल अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्न तथा विद्यार्थीलाई गुणस्तरीय र पोषणयुक्त खाजाको व्यवस्था गर्न माग गरेका छन् ।

यस विषयमा विद्यालय प्रशासन तथा सम्बन्धित शिक्षा शाखाको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । स्थानीयवासीले विद्यालय खाजा कार्यक्रम अन्तर्गत प्राप्त बजेट र खर्चको समेत पारदर्शी छानबिन गर्न माग गरेका छन् ।

प्रधानाध्यापक रामनाथ पालले सधैं तालिका अनुसार दिवा खाजा खुवाउँदै आएकाे बताउँदै आज चिउरा र नमकीन खुवाएकाे स्विकार गरे । उनले भने: “आज विद्यार्थीलाई चिउरा र नमकीन खुवाएकाे छु । अब सुधार गर्नेछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here