[ad_1]
- फर्नान्डो डुआर्टी
- बीबीसी विश्व सेवा

तस्बिर स्रोत, Getty Images
महारानी एलिजाबेथ द्वितीयाको निधनपछि राजा चार्ल्स तृतीयको राज्यारोहणले ब्रिटेनको राजपरिवारमा हुने भिन्न खालका चलन धेरै पुस्तापछि पुन: उजागर गरेको छ।
तर तीमध्ये कतिपय चलन राजपरिवारको मामिलामा आफूलाई जानकार ठान्नेहरूलाई पनि छक्क पार्ने खालका छन्।
यस्तै केही अस्वाभाविक उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ।
मौरीलाई दुःखद खबर सुनाउने चलन
महारानीको निधनको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा धेरै नै आए पनि निश्चित ठाउँहरूमा भने यो समाचार छुट्टै रूपमा सुनाउनुपर्ने नियम छ। त्यो भनेको उनका मौरीहरूलाई हो।
जोन च्यापल १५ वर्षदेखि दरबारमा मौरीपालकको रूपमा काम गर्दै आएका छन्।
उनले बकिङ्गम प्यालेस र प्रिन्स अफ वेल्सको निवास आसपासको चौरमा पालिएका मौरीको घारलाई यो दु:खद सूचना दिएर निकै शताब्दी पुरानो उक्त चलनलाई यस पटक निरन्तरता दिए।
डेली मेलसँगको अन्तर्वार्तामा च्यापलले मौरीहरूलाई आफूले “नयाँ राजालाई राम्रो” गर्न पनि भनेको बताएका छन्।
सत्तामा आएको परिवर्तनबारे जानकारी नगराए मौरीहरूले मह बनाउन छोड्छन् भन्ने अन्धविश्वाससँग यो चलन जोडिएको छ।
“निधन भएकी व्यक्ति घारकी मालिक हुन्। उनीहरूका लागि रानीको निधन मात्र होइन उनीहरूको परिवारको महत्त्वपूर्ण व्यक्तिको निधन पनि हो। त्यो महत्त्वपूर्ण हुँदैन र?” मौरीको हेरचाह गर्ने च्यापल भन्छन्।
“हरेक घारमा ढकढक्याएर ‘तिमीहरूकी मालिकको निधन भएको छ, तर तिमीहरू कतै नजाऊ। नयाँ मालिक तिमीहरूका लागि राम्रो मालिक हुनेछन्’ भनिन्छ।”
के राजाको जन्मदिन पनि दुई दिन हुन्छ?
तस्बिर स्रोत, Getty Images
राजा चार्ल्स तृतीयले दुई पटक जन्मदिन मनाउने परम्परा कायम राख्लान्?
राजा चार्ल्स तृतीयले लिने धेरै निर्णयहरूमध्ये एउटा उनको व्यक्तिगत कुरासँग सम्बन्धित छ। त्यो भनेको उनको जन्मोत्सव हो।
महारानी एलिजाबेथ द्वितीयाका दुईवटा जन्मदिन थिए। उनी एप्रिल २१ मा जन्मिएकी थिइन् तर दिवङ्गत महारानीको आधिकारिक जन्मोत्सव चाहिँ जुनको दोस्रो शनिवार ‘ट्रूपिङ द कलर’ परेडसहित मनाइने गरेको थियो।
किन? उत्तर सहज छ। यूकेमा बाहिरी कार्यक्रम गर्नका लागि एप्रिलमा जाडो हुने गर्छ र जुन महिनापछि गर्मीयाम सुरु हुन्छ।
यो परम्परा चाहिँ निकै पुरानो हो। सन् १७४८ मा जोर्ज द्वितीयले यो चलनको थालनी गरे। उनले त्यसअघिबाटै मनाइने गरेको परेडसँगै आफ्नो जन्मोत्सव पनि मनाउने निर्णय गरे।
चार्ल्स तृतीयले पनि यही परम्परा कायम राख्लान्? यसबारे अहिलेसम्म हामीलाई थाहा हुन सकेको छैन। तर यहाँ विचार गर्नुपर्ने कुरा के छ भने नयाँ राजा नोभेम्बरमा जन्मिएका हुन्। यो महिना भनेको घाम र न्यानो दुर्लभ हुने महिना हो।
“नयाँ राजाले जे प्रचलन छ त्यसलाई नै निरन्तरता दिने मेरो ठोकुवा छ। उनी शरद्ऋतुमा जन्मिएका हुन् र ‘ट्रूपिङ द कलर’ निकै लोकप्रिय छ,” शाही इतिहासविद् रिचर्ड फिट्ज्विलियम्सले बीबीसीसँग भने।
उनी महारानी एलिजाबेथ द्वितीयाको राज्यारोहण सन् १९५३ को जुनमा मात्रै भएको उदाहरण दिँदै ब्रिटेनको अर्को परम्परा मौसम पूर्वानुमानमा कठिनाइका कारण पनि प्रभावित हुनसक्ने बताउँछन्।
“त्यस दिनको मौसम भयानक थियो,” उनी भन्छन्।
“रानी र राजाहरूले पनि मौसम वशमा राख्न सकेनन्।”
घोडाको साटो मान्छेको शक्ति
सन् १९०१ यता राजपरिवारका सदस्यको अन्तिम संस्कारमा जलसैनिकहरूले डोरीको सहायताले बग्गीमा राखिएको शवपेटिका तान्ने गरेका छन्।
बग्गी तान्न घोडाको साटो मानिसहरूको छनोट आफैँमा अनौठो छ। तर महारानी भिक्टोरियाको अन्तिम संस्कारमा सुरु भएको यो चलन यहाँको परम्परा हो।
उक्त समारोहसम्म देशका प्रमुखको शवपेटिका रहेको बग्गी घोडाले तान्नु साधारण मानिन्थ्यो। तर घोडाहरू अचानक अनियन्त्रित भएपछि समारोहमा त्रास उत्पन्न भएको थियो।
“त्यो अत्यन्त चिसो दिन थियो र घोडाहरूको प्रतिक्रिया राम्रो थिएन। परिणामस्वरूप महारानी भिक्टोरियाको शवपेटिका झन्डै खसेको थियो,” शाही इतिहासकार केली स्वाबले बीबीसीसँग भनिन्।
तस्बिर स्रोत, Getty Images
महारानी भिक्टोरियाको शवयात्रामा बग्गी ताान्न जलसैनिकहरू अघि सरेका थिए
भिक्टोरियाका उत्तराधिकारी राजा एड्वर्ड चतुर्थको आदेशमा अन्तिम संस्कारका सहभागी जलसैनिकहरू अघि बढेर स्थिति सम्हाले।
“त्यहाँ विश्वभरिका प्रतिष्ठित व्यक्तिहरू थिए। निकै लज्जाको विषय हुनसक्थ्यो,” स्वाब भन्छिन्।
“यही असहज परिस्थितिबाट नयाँ राजपरम्पराको थालनी भयो।”
सन् १९५२ मा राजा जोर्ज चतुर्थको अन्तिम संस्कार हुँदा १३८ जना बग्गी तान्ने काममा खटिएका थिए।
छडी भाँच्ने परम्परा
राजपरिवारमा बाहिर देखिने समारोहबाहेक अन्य क्रियाकलापबारे कमैले मात्र सुनेका छन्।
लर्ड चेम्बरलेनको उपाधिले चिनिने राजपरिवारको कार्यालयका सबैभन्दा वरिष्ठ अधिकारीको प्रत्येक वर्ष राष्ट्रप्रमुखलाई संसद् भ्रमणमा लैजानेबाहेक अर्को पनि एउटा जिम्मेवारी दिइएको हुन्छ।
त्यो भनेको ब्रिटिश राजा वा महारानीको समाधिमाथि सेतो छडी भाँचेर उनीहरूका लागि आफ्नो सेवा समाप्त भएको जानकारी दिनु।
तस्बिर स्रोत, Getty Images
पूर्वगुप्तचर प्रमुख एन्ड्रू पार्करले सेतो छडी भाँच्ने परम्परालाई निरन्तरता दिनेछन्
अहिले एन्ड्रू पार्कर लर्ड चेम्बरलेनको भूमिकामा छन्। ब्रिटिश गुप्तचर निकायका पूर्वप्रमुख सन् २०२१ मा यो पदमा नियुक्त भएका थिए।
अन्तिम संस्कार समारोहमा गरिँदै आएको औपचारिकता निकै शताब्दी पुरानो हो।
दिवङ्गत महारानीका बुबा जोर्ज चतुर्थको ७० वर्षअघि निधन हुँदा पनि यसरी सेतो छडी भाँचिएको थियो।
इतिहासकार फिट्ज्विलियम्स यस्तो चलनले यूकेको राजतन्त्रलाई आफ्नै आकर्षण दिएको बताउँछन्।
“किनभने ब्रिटिश राजपरिवारमा रहेका यस्ता चलनहरू साँच्चिकै मौलिक छन्,” उनी भन्छन्।
को हुन् राजा चार्ल्स?
[ad_2]


