विजयनगर, ४ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-७ गढुवाजोत स्थित एक काष्ठ उद्योगबाट प्रहरीले अवैध सिसौको काठ बरामद गरेको छ ।
आइतबार बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले निशा काष्ठमिल तथा फर्निचर उद्योगमा छापा मार्दा ७ ओटा साइकलमा लोड गरी अवैध रूपमा राखिएको सिसौको ९ गोलिया काठ बरामद गरेको हो ।
बरामद गरिएको काठको परिमाण १ सय १० क्यु फिट रहेको प्रहरीले जनाएको छ । प्रतिक्यु फिट ३ हजार रुपैयाँका दरले उक्त काठको अनुमानित मूल्य ३ लाख ३० हजार रुपैयाँ रहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा उद्योग सञ्चालक कृष्णनगर नगरपालिका-२ निवासी ५२ वर्षीय मक्सुदन शाहलाई नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएको काठ, ७ ओटा साइकल तथा शाहलाई आवश्यक कानुनी कारवाहीका लागि सब-डिभिजन वन कार्यालय ठकुरापुर पठाइएको प्रहरीले जनाएको छ ।



