कपिलवस्तु, जेठ २१ ।
२१औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा कपिलवस्तुमा एक बृहत् संवाद कार्यक्रम सम्पन्न गरिएको छ। वि.सं. २०६३ साल जेठ २१ गते तत्कालीन प्रतिनिधिसभाले नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा कार्यक्रम आयोजना गरिएको थियो।
युनाइटेड मिसन टु नेपाल (यूएमएन),kinder not hilfe तथा अष्ट्रेलियन एडको सहयोगमा र दलित सामाजिक विकास केन्द्र कपिलवस्तु र राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा कार्यक्रम भएको थियाे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि, दलित अगुवा, महिला अधिकारकर्मी, धार्मिक अगुवा तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको खुला संवाद सत्रमा सहभागीहरूले समाजमा अझै पनि विद्यमान जातीय भेदभाव तथा छुवाछूतका विविध पक्षबारे आफ्ना अनुभव, धारणा र प्रश्नहरू राखेका थिए। सहभागी शान्ति कलवारले समुदायमा विकास तथा सामाजिक काम गर्दा कुनै प्रकारको विभेद नदेखिए पनि जब आफ्नो हक, अधिकार र समान अवसरको विषय उठाइन्छ, त्यतिबेला किन जातीय भेदभाव तथा छुवाछूतको सामना गर्नुपर्छ भन्ने प्रश्न गर्नुभयो। उहाँले कानुनी रूपमा छुवाछूत अन्त्य भएको घोषणा गरिए पनि व्यवहारिक रूपमा अझै विभेद कायम रहेको बताउनुभयो।
त्यसैगरी निर्मला पासीले महिलाहरूले समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न खोज्दा अझै पनि नकारात्मक दृष्टिकोण र विभेदपूर्ण व्यवहारको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। महिलाले निर्णय प्रक्रियामा सहभागिता जनाउन खोज्दा समाजले सहज रूपमा स्वीकार नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको जोड थियो।

संवादकै क्रममा निर्मला रैदासले समाजमा विद्यमान दोहोरो व्यवहारप्रति प्रश्न उठाउँदै बच्चा जन्मिएपछि आमा र नवजात शिशुको हेरचाह हामीले गर्ने, तर शुभकार्य तथा धार्मिक कार्यहरूमा त्यही परिवार वा समुदायका व्यक्तिलाई छुवाछूतको दृष्टिले हेर्ने प्रवृत्ति किन कायम छ भन्ने प्रश्न ? राख्नुभयो । उहाँले सामाजिक व्यवहारमा समानताको भावना विकास हुन नसकेसम्म छुवाछूत अन्त्य हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका वक्ताहरूले जातीय पहिचानभन्दा माथि उठेर सबैभन्दा पहिले आफू मानव भएको भावना विकास गर्न आवश्यक रहेको बताए। उनीहरूले समाजका प्रत्येक व्यक्तिले आफैँबाट कुनै पनि प्रकारको विभेद नगर्ने प्रतिबद्धता जनाएमा मात्र जातीय भेदभाव तथा छुवाछूतको वास्तविक अन्त्य सम्भव हुने धारणा राखे।
मायादेवी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख बैतुल्लाह धुनियाले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताउनुभयो। उहाँले सामाजिक चेतना, शिक्षा र सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबै सरोकारवाला पक्ष एकजुट भएर लागेमा मात्रै विभेदमुक्त समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
यशोधरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अब्दुल कयूम खानले मानिसको रगत, भावना र मानवता समान हुने भए पनि व्यवहारमा किन जातीय भेदभाव कायम छ भन्ने प्रश्न उठाउनुभयो। उहाँले जातीय विभेद अन्त्यका लागि प्रत्येक नागरिकले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
यशोधरा गाउँपालिका वडा नम्बर ३ की वडा अध्यक्ष सरिता त्रिपाठीले महिलामाथि हुने विभेद र जातीय भेदभावबीच घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। उहाँले महिलाहरू शिक्षित, सचेत र आत्मनिर्भर बनेमा समाजमा विद्यमान विभेदकारी सोचलाई चुनौती दिन सकिने बताउँदै महिला शिक्षामा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी भूविश्वर घिमिरेले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको २१ वर्षको अवधिमा धेरै सकारात्मक परिवर्तनहरू आएको बताउनुभयो। उहाँले कानुनी तथा नीतिगत सुधारका कारण खुला रूपमा हुने विभेदका घटनामा कमी आएको उल्लेख गर्दै समाजमा अझै देखिने छिटफुट घटनाहरूको न्यूनीकरणका लागि शिक्षा, जनचेतना र सामाजिक अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।दलित सामाजिक विकास केन्द्रका प्रतिनिधिहरूले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि सञ्चालित अभियानहरूलाई थप सशक्त बनाउनुपर्ने उहाँले जोड दिनु भयो ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम अचार्यले जातीय भेदभाव तथा छुवाछूत जस्तो सामाजिक विकृति अन्त्य गर्न स्थानीय तहहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थानीय सरकारहरूले लक्षित कार्यक्रम, जनचेतनामूलक अभियान तथा सामाजिक समावेशीकरणका गतिविधिहरूलाई प्राथमिकतामा राखेर कार्य गरेमा विभेदमुक्त समाज निर्माणको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न समुदाय र पेशागत क्षेत्रका प्रतिनिधिहरूबीच विशेष संवाद सञ्चालन गरिएको थियो। संवादमा पुरोहित, मौलाना, दलित प्रतिनिधि, अधिवक्ता, सामाजिक अगुवा, महिला प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरू सहभागी भएका थिए। सहभागीहरूले जातीय भेदभाव तथा छुवाछूतका सामाजिक, सांस्कृतिक तथा व्यवहारिक पक्षबारे खुलेर छलफल गरेका थिए।संवाद कार्यक्रमको सहजीकरण दलित सामाजिक विकास केन्द्रद्वारा सञ्चालित “हाम्रो पहुँच परियोजना” का परियोजना अधिकृत गोविन्द धवलले गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्य समाजमा विद्यमान विभेदका विषयमा खुला छलफल गरी समाधानका उपायहरूको खोजी गर्नु रहेको बताउनुभयो।
दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यमती पासीको अध्यक्षता तथा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम अचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूविश्वर घिमिरे र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट विशिष्ट अतिथि रहेको थियो । अतिथिहरुमा गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेय, यशोधरा गाउँपालिकाका विभिन्न वडा अध्यक्षहरू, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको रहेका थिए ।
कार्यक्रम केन्द्रकी सदस्य अनिता श्रमालको स्वागत मन्तव्य र केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले कार्यक्रमको उद्देश्य, आवश्यकता र दलित समुदायको हक–अधिकार तथा सामाजिक न्यायका लागि संस्थाले सञ्चालन गरिरहेका गतिविधिहरूबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमका सहभागीहरूले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानुनी व्यवस्था, शिक्षा, जनचेतना, सामाजिक संवाद तथा व्यवहारगत परिवर्तनलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेका थिए।



