विजयनगर, २० माघ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको सवारी दुर्घटनाले अवैध पशु तस्करीको घटनालाई उजागर गरेको छ । विजयनगर गाउँपालिका-२ मगरघट्टा स्थित भित्री सडक खण्डमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक साइकल यात्री घाइते भएका छन् भने गाडीबाट भारततर्फ अवैधरूपमा लैजान लागिएका ५६ वटा बाख्रा बरामद गरिएको छ ।प्रहरीका अनुसार २०८२ माघ १९ गते साँझ करिब ७ बजे मगरघट्टाबाट उठहवा तर्फ जाँदै गरेको लु ३ च ७१८ नम्बरकाे बोलेरो पिकअप भ्यान अनियन्त्रित भई पल्टिएको थियो । सो क्रममा बाटोको छेउमा रोकी राखेको साइकललाई ठक्कर दिँदा साइकल चालक कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-११ प्रभातनगर निवासी करिब २७ वर्षीय अजय कुमार भर गम्भीर घाइते भएका थिए । इलाका प्रहरी कार्यालप गणेशपुरका अनुसार दुर्घटनामा घाइते भरको टाउको, मुख तथा हातखुट्टामा चोट लागेको र तत्काल उपचारका लागि चौराहा अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले गाडी जाँच तथा चालकसँग सोधपुछ गर्दा आवश्यक कागजात साथमा नरहेको पाइएको थियो । थप अनुसन्धानका क्रममा उक्त बोलेरो पिकअप भ्यानमार्फत नेपालबाट भारततर्फ अवैध रूपमा चोरी निकासी पैठारी गर्न ५७ वटा बाख्रा लोड गरिएको खुलासा भएको हो । बरामद गरिएका बाख्रामध्ये एक बाख्रा बिरामी अवस्थामा रहेको र सोही गाडीभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बाँकी ५६ वटा बाख्राको ३ लाख ९२ हजार रुपैयाँ बराबरको मूल्यांकन गरिएको छ । प्रहरीले गाडी, चालक तथा बरामद बाख्राहरूलाई रीतपूर्वक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको थियो । यस सम्बन्धमा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले भन्सार कार्यालय कृष्णनगरमा पठाइएको जनाइएको छ ।घटनाले सीमावर्ती क्षेत्रमा अझै पनि अवैध पशु तस्करी सक्रिय रहेको स्थानीयले बताएका छन् ।



