माेर्चाकाे ​विशेष चुनावी छलफल कपिलवस्तुमा

0
80

माेर्चाकाे ​विशेष चुनावी छलफल कपिलवस्तुमा
कपिलवस्तु, मंसिर २२
अनेक पाण्डे
कपिलवस्तुमा आज विभिन्न दलका शीर्ष नेताहरू सहभागी रहेको एउटा महत्वपूर्ण विशेष चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित छलफलमा प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, पूर्व मन्त्री ईश्वर दयाल मिश्र, तथा राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका सह-महामन्त्री रवि दत्त मिश्र सहभागी भएका थिए।

कार्यक्रममा नेताहरूले वर्तमान राजनीतिक अवस्था, स्थानीय विकासका चुनौती, क्षेत्रीय शक्ति सन्तुलन, र आगामी चुनावी रणनीति सम्बन्धमा खुला रूपमा विचार–विमर्श गरेका थिए।

छलफलमा प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जनताको भरोसा जित्न दलहरूले व्यवहारिक कार्यक्रम र ठोस वैकल्पिक नीति अघि सार्नुपर्ने आवश्यकता औंल्याए। उनले स्थानीय तहमा विकासका मुद्दा कमजोर भएकैले मतदातामा निराशा बढिरहेको बताउँदै, आगामी चुनावमा यो असन्तुष्टिलाई सम्बोधन गर्ने गरी साझा एजेन्डा बनाउने सुझाव दिए।

पूर्व मन्त्री ईश्वर दयाल मिश्रले संघीयता, सीमावर्ती क्षेत्रका समस्या तथा आर्थिक अवस्थाका विषय उठाउँदै दलहरूले प्रदेश ५ (लुम्बिनी) लाई प्राथमिकता दिएर कूटनीतिक, सामाजिक र आर्थिक कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे। उनले भौतिक पूर्वाधार र कृषि क्षेत्रको रूपान्तरणलाई मुख्य चुनावी मुद्दा बनाउनुपर्ने बताए।

तेस्रो वक्ता, राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका सह-महामन्त्री रवि दत्त मिश्रले जनस्तरमा बढिरहेको राजनीतिक मोहभंगलाई सम्बोधन गर्न दलहरूबीच सहकार्य अपरिहार्य भएको उल्लेख गरे। उनले साना दलहरूको भूमिका, युवाको सहभागिता, र सीमावर्ती क्षेत्रका विशेष सुरक्षा तथा विकास योजनालाई मुख्य विषयका रूपमा उठाए।
कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले भने, “मधेसी जनतामाथि भएको विभेद अब सहने योग छैन। समान अधिकार, सम्मान र प्रतिनिधित्वका सवालमा सरकारले आफूलाई संवेदनशील देखाउनु जरुरी छ।”

उनका अनुसार संविधानमा उल्लेखित समानता र समावेशिताका प्रावधानहरू व्यवहारमा कागजी मात्र बनेका छन्। राज्यका हरेक संयन्त्रमा मधेसीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने उनले जोड दिए।

मिश्रले मधेसमा देखिएका आर्थिक, सामाजिक र राजनीतिक असमानताहरू अन्त्य गर्न सशक्त जनदबाब आवश्यक रहेको उल्लेख गर्दै पार्टी आगामी दिनमा मधेसी अधिकार र पहिचानको मुद्दामा अझ सशक्त रूपमा उत्रिने बताए।

छलफलमा क्षेत्रीय राजनीतिक समिकरण, सम्भावित गठबन्धन, र चुनावी तयारीबारे पनि विस्तृत बहस भएको आयोजकहरूले जनाएका छन्। सहभागी नेताहरूले यस प्रकारका संयुक्त छलफलले कपिलवस्तु र लुम्बिनी प्रदेशको राजनीतिक दिशानिर्धारणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, पत्रकार, समुदायका प्रतिनिधि तथा विभिन्न दलका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here