
कृष्णनगर, १६ असार ।
लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय तथा ८० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका-४ देउपुराका ३३ वर्षीय बब्लु भनिने बुधई यादवलाई इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ गरेको हो ।यादवलाई मिति २०८० असार २७ गते दाङ जिल्ला अदालतले लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तथा २०८१ असार १४ गते कपिलवस्तु जिल्ला अदालतले सोही मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । दुबै मुद्दाको फैसला अनुसार उनीमाथि कुल १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।कैद भुक्तानका लागि कारागार चलान गरिएका यादव २०८२ भदौ २४ गते दाङको तुल्सीपुर कारागारमा भएको तोडफोड तथा आन्दोलनका क्रममा फरार भएका थिए ।फरार अभियुक्तको खोजी कार्यलाई तीव्र बनाउँदै आएको प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक महेश कुमार आचार्यको नेतृत्वमा खटिएको टोलीले उनलाई विजयनगर गाउँपालिका-४ स्थित जोलाही चोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका यादवलाई २०८३ असार १५ गते कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराई थप कारवाहीका लागि कारागार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।


