विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्ग : ‘लाइफलाइन’ मा सरकारी निकायको बेवास्ता

0
74

पृथ्वी राजमार्गअन्तर्गत नौबीसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य बाधक बनेको छ ।

समयमै काम सम्पन्न भएको भए यति बेला यो सडक कालोपत्र भइसकेको हुन्थ्यो । तर नेपाल विद्युत् प्राधिकरणले समयमै सडकमा रहेको पोल हटाउन नसक्दा निर्माणमा गम्भीर चुनौती थपिएको छ ।

२०७९ साल वैशाख १४ गते ठेक्का सम्झौता भएको यस आयोजनाले लक्ष्यअनुसारको प्रगति गर्न सकिरहेको छैन । विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको ४३ दशमलव ५४ किलोमिटर लामो यो सडकलाई देशको ‘लाइफलाइन’ मानिन्छ ।

आयोजना प्रमुख केशव ओझाकाअनुसार प्राधिकरणको खातामा डेढ वर्ष अगाडि नै पोल सार्न आवश्यक बजेट दाखिला गरिएको थियो । तर प्राधिकरणले लगाएको ठेक्का प्रभावकारी नहुँदा काम सुस्त छ ।

विशेषगरी धार्के बजार र बन्छेटार खण्डमा २ सयभन्दा धेरै पोल सार्नुपर्ने छ । सडकको स्तरोन्नतिका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागत रहेको छ ।

प्राधिकरणले पोलको व्यवस्थापन गर्न नसक्दा कतिपय ठाउँहरूमा विद्युतीय पोललाई सडक बीचमै पारेर कालोपत्र गरिएको छ । यसरी पोलहरू सडकमै पारेर कालापत्र गर्दा दुर्घटना निम्ताउन सक्ने प्राविधिहरूको भनाइ छ ।

निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेकाअनुसार विद्युतीय पोल नसार्दा लक्ष्यअनुसारको काम हुन सकिरहेको छैन । धार्के बजारमा विद्युतीय पोलको अवरोधका कारण कामको गति बढाउन नसकिएको उहाँको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here