[ad_1]

तस्बिर स्रोत, Getty Images
उनी चार्ल्सको जीवनकी माया हुन्, युवावस्थादेखि उनकी विश्वासपात्र हुन्, १७ वर्षदेखि उनकी श्रीमती हुन् र अब त उनी क्वीन कन्सोर्ट हुन्।
आम नागरिकले प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू र उत्सवहरूमा कमिलालाई उनका पति सँगसँगै देख्दै आएका छन्। तर मानिसले उनको उपस्थितिलाई सहजै स्वीकार गरेका छैनन्।
कमिला पार्कर बाउल्सलाई जसरी कमै महिलालाई सार्वजनिक रूपमा अपमानित गरिएको छ। शताब्दीकै चर्चित वैवाहिक सम्बन्ध विच्छेदमा संलग्न उनी “अर्की महिला” थिइन् जसलाई निरन्तर प्रिन्स अफ वेल्स राजकुमारी डायनासँग तुलना गरिन्छ।
तस्बिर स्रोत, Getty Images
सन् १९५२ मा कमिला र उनकी बहिनी एक वैवाहिक समारोहमा सहभागी हुँदा
चार्ल्सलाई रोज्नुले उनको जीवनलाई नयाँ मोड दियो। जसका कारण वर्षौँसम्म उनलाई सञ्चार माध्यमले पछ्यायो र उनको चरित्र साथै उपस्थितिमा निरन्तर आक्रमण गर्यो। तर उनले आँधीको सामना गरिन् र बिस्तारै शाही परिवारको सबैभन्दा वरिष्ठ महिला सदस्यको रूपमा स्थापित भइन्।
उमेरले बीसौँ वर्षको आसपासमा देख्ने बित्तिकै चार्ल्सलाई मोहित पारेकी कमिलाको यात्रा अद्भुत छ।
महारानी एलिजाबेथ द्वितीयाबाट उनीहरूको सम्बन्धले स्वीकृति पाउन केही समय लाग्यो तर आफ्नो जीवनको उत्तरार्द्धमा उनले कमिलालाई अपनाइन्।
नयाँ रानीले जनताबाट पूर्ण समर्थन नपाउन सक्छिन्। तर यसै वर्षको सुरुवातमा उनले भोग म्यागेजिनसँगको अन्तर्वार्तामा भनेकी थिइन्: “म यस्ता विषयबाट माथि उठिसकेँ र त्यसबारे नसोची अघि बढ्छु। तपाईँले जीवनलाई अगाडि बढाउनु पर्छ।”
सन् १९४७ को जुलाई १७ मा जन्मिएकी कमिला रोजमेरी शान्डले भविष्यमा राजगद्दीको उत्तराधिकारीसँग विवाह गर्छिन् भन्ने सोचिएको थिएन। उनको परिवार उच्च-वर्गीय, धनी र शक्ति सम्पन्न थियो तर शाही परिवार थिएन।
उनी आफ्ना भाइ र बहिनीसँग निकट र मायालु वातावरणमा ससेक्सको रमणीय र पारिवारिक माहौलमा हुर्किइन्। उनका पिता ब्रुश शान्ड एक सेवानिवृत्त सैन्य अधिकारी थिए जसले कमिलालाई निदाउनु अघि कथाहरू पढेर सुनाउँथे। उनकी आमा रोजालिन्डले आफ्ना सन्तानहरूलाई विद्यालय र बाह्य गतिविधिहरूमा संलग्न गराउँथिन् र समुद्रको तटसम्म लिएर जान्थिन्। चार्ल्सको तुलनामा यो नितान्त फरक बाल्यकाल थियो।
चार्ल्सका अभिभावक लामो समयसम्म विदेश भ्रमणमा रहने हुँदा उनले लामो समय आफ्नो अभिभावक बिना बिताए।
स्विट्जरल्यान्डस्थित फिनिसिङ स्कूल भनिने विशेष स्कूलले उनलाई लन्डनको समाजमा घुलमिल हुन योग्य उच्च घरानाकी युवतीको रूपमा तयार गर्यो। उनी चर्चित थिइन् र ६० को दशकको मध्यदेखि उनी एन्ड्र्यू पार्कर बाउल्स नाम गरेका हाउसहोल्ड क्याभलरी अधिकारीसँग अस्थिर सम्बन्धमा रहिन्।
तस्बिर स्रोत, Frank Barratt / Getty Images
एन्ड्रयू पार्कर बाउल्ससँग लमो समय अस्थिर सम्बन्धमा रहेपछि उनीसँग कमिलाको सन् १९७३ मा सम्बन्ध विच्छेद भयो
१९७० को दशकको प्रारम्भमा युवा राजकुमार चार्ल्ससँग परिचय भयो। राजकुमारको जीवनी लेख्ने जोनाथन डिम्बलबीका अनुसार “उनी मायालु र नम्र थिइन्।” र पहिलो प्रेमको भावनामा उनले कमिलालाई एकै पटक आफ्नो हृदय सुम्पन पुगे।
तर समय भने सही थिएन। चार्ल्स अझै उमेरले बीसको हाराहारीमा थिए र नौसेनामा भर्ती भएका थिए। सन् १९७२ को अन्त्यतिर उनी ८ महिना लामो वैदेशिक यात्रामा थिए। र जब उनी देशबाट टाढा थिए त्यतिबेला एन्ड्र्युले कमिलालाई प्रेम प्रस्ताव राखे र उनले स्विकारिन्। उसो भए चार्ल्सलाई पर्खनु जरुरी थिएन? निकटका साथीहरूले अनुमान गरे अनुसार कमिलाले आफूलाई रानी बन्न योग्य ठानेकी थिइनन्।
विक्षिप्तजस्ता भए पनि चार्ल्स र कमिला सधैँ एकअर्काको नजिक रहे। उनीहरू उही सामाजिक परिवेशमा देखिन्थे, चार्ल्स र एन्ड्र्युले सँगै पोलो खेल्थे। कमिला र एन्ड्र्युले आफूहरूको पहिलो सन्तान टमको गडफादर बनिदिन चार्ल्सलाई आग्रह समेत गरेका थिए। पोलो खेलका दौरान चार्ल्स र कमिलाको तस्बिरले उनीहरू बीच आरामदायी आत्मीयता झल्काउँछ।
तस्बिर स्रोत, Getty Images
सन् १९७२ मा कैद चार्ल्स र कमिला एकसाथ देखिएको पहिलो तस्बिर
सन् १९८१ को गर्मी याममा चार्ल्सले अर्की युवती डायना स्पेन्सरलाई भेटे र प्रेम प्रस्ताव राखे। यति बेलासम्म पनि कमिला उनको जीवनको एक अंश थिइन्। डायना: हर ट्रू स्टोरी किताबका लेखक एन्ड्र्यू मोर्टनले डायनाले झन्डै दुई दिन अगाडि बिहे रद्द गरेकी थिइन् भनेर लेखेका छन्। त्यसो हुनुको कारण डायनाले चार्ल्सले कमिलाका लागि बनाएको ब्रास्लेट थियो जसमा अक्षरहरू “एफ” र “जी” कुँदिएको थियो। ती अक्षरहरू उनीहरूले एकअर्कालाई बोलाउने नाम फ्रेड र ग्लाडिज थियो।
डायनाले आफ्नो पति र कमिलाबीचको सम्बन्धलाई लिएर गरेको सङ्घर्ष प्रश्नरहित भने छैन।
चार्ल्सले उनीहरूले आफ्नो रोमाञ्चक सम्बन्धलाई पुनर्जीवित मात्र गरेको भन्ने कुरालाई जोड दिए जब उनको विवाह “अपरिवर्तनीय रूपमा टुटेको थियो।” तर डायनाले अहिले बदनाम पानोरामा म्यागेजिनलाई सन् १९९५ मा दिएको अन्तर्वार्तामा निकै यादगार रूपमा भनेकी छन्,”यो विवाहमा हामी तीन जना थियौँ।”
यी दुईको वैवाहिक जीवन बिग्रिएपछि केही समाचारका शीर्षकहरू निकै उत्तेजक थिए। तर सायद सन् १९८९ मा गोप्य रूपले रेकर्ड गरिएको र त्यसको चार वर्षपछि सार्वजनिक गरिएको अबेर रातको फोनवार्ता झनै आघातपूर्ण थिए।
उक्त फोनवार्तामा चार्ल्सले कमिलालाई उनको पीडाको साथी बन्न चाहेको बताएका थिए जसले उनीहरू बीचको घनिष्ठता कुन हदमा छ भन्ने स्पष्ट सङ्केत गर्थ्यो।
सन् १९९५ कमिलाको सम्बन्धविच्छेदको टुङ्गो लाग्यो। चार्ल्स र डायनाको वैवाहिक सम्बन्धको आधिकारिक अन्त्य सन् १९९६ मा भयो।
यो कमिलाले चार्ल्ससँगै निकट हुन खोजेको भावनाको बलियो सङ्केत थियो। सार्वजनिक आक्रोश र उनीहरूको सम्बन्धका कारण परिवारमा, विशेषगरी आफ्ना दुई सन्तान टम र लाउरामा निम्तिएको सङ्कट बीच उनले राजकुमारसँग हुने बाटो रोजिन्।
टम पार्कर बाउल्सले ती दिनहरूको बारेमा बोलेका छन् जब पापाराजीहरू विल्टशरस्थित निवासको झाडीमा लुक्ने गर्दथे। “हाम्रो परिवारका बारेमा कसैले भन्न सक्ने केही पनि छैन जसले हामीलाई थप चिन्तित बनाओस्,” उनले सन् २०१७ को द टाइम्स पत्रिकामा उनले लेखेका छन्। उनी अगाडि थप्छन्,”मेरी आमा निकै बलियो हुनुहुन्छ”
उक्त दिनहरूबारे कमिलाले भनिन्: “कसैलाई पनि आफूमाथि सधैँ आफूमाथि नजर राखिएको मन पर्दैन। तपाईँले त्यस्तो अवस्थाका साथ बाँच्ने उपाय खोज्नु पर्छ।”
सन् १९९७ मा डायनाको मृत्यु भएपछि आलोचनाहरूको सामना गर्ने उपाय खोज्नु झनै कष्टकर बन्यो। सार्वजनिक रूपमा, चार्ल्सले आफ्ना छोराहरू विलियम र ह्यारीमा केन्द्रित रहे भने कमिला सार्वजनिक उपस्थितिबाट पर रहिन्। तर उनीहरूको सम्बन्ध भने जारी रह्यो।
चार्ल्सले कमिलालाई आफ्नो जीवनको अपरिहार्य अंश ठान्थे र त्यसै कारण उनले निकै सावधानीपूर्वक जनमानसमा कमिलाको छवि सुधार्न अभियान सुरु गरे। यसको सुरुवात सन् १९९९ मा रिट्ज होटलबाट अबेर राति उनले गरेको प्रस्थानबाट सुरु भयो जतिबेला उनीहरूले कमिलाको बहिनीको ५० औँ जन्मदिन मनाउँदै थिए। त्यसको ६ वर्ष पछि उनीहरूले विन्डसर गील्डहलमा एउटा सानो नागरिक समारोहमाझ विवाह गरे।
तस्बिर स्रोत, Getty Images
सन् १९९९ मा चार्ल्स र कमिला पहिलो पटक दम्पत्तीका रूपमा देखिए
नव विवाहित जोडीलाई आम नागरिकहरूले नकारात्मक प्रतिक्रिया देलान् भन्ने चिन्ता त्यतिबेला निराधार साबित भयो जब उनीहरूलाई शुभचिन्तकहरूले जयजयकार र तालीले स्वागत गरे।
तर धेरै वर्षसम्म उनी कहिले रानीको रूपमा चिनिन्छन् भनेर बहस जारी रह्यो। कानुनी रूपमा उनी रानी शीर्षकको हकदार थिइन् तर त्यसो भए पनि उनी राजकुमारी कन्सोर्ट भनेर चिनिइन्। यो चार्ल्स र डायनाको विवाह टुट्नुमा उनलाई दोषी ठान्नेहरूलाई शान्त पार्न अपनाइएको तरिका थियो।
अन्त्यमा यस मामिला महारानीबाट सुल्झाइएको थियो जसले सन् २००० मा भनेकी थिइन् “यो मेरो इच्छा हो कि जब त्यो समय आउँछ कमिलालाई रानी कन्सोर्ट भनेर चिनिने छ।” यो कमिलाले चार्ल्सको पक्षमा आफ्नो स्थान कमाएको पुष्टि थियो। त्यसपछि यस मामिलाको सबै सार्वजनिक बहसहरूको प्रभावकारी अन्त्य भयो।
यदि महारानी सुरुवातमा कमिलाबाट सशङ्कित थिइन् भने त्यो मात्रा राजकुमारहरू विलियम र ह्यारीको सवालमा झन् धेरै हुनुपर्छ। यी दुवै राजकुमारहरूले सार्वजनिक रूपमा आफ्ना अभिभावकहरूको वैवाहिक विच्छेद सामना गरे र त्यसपश्चात् आफ्नी आमाको मृत्यु पनि सामना गरे जतिबेला विलियम १५ वर्षका र ह्यारी मात्र १२ वर्षका थिए।
तस्बिर स्रोत, Getty Images
सन् २००५ को अप्रिलमा चार्ल्स र कमिलाले सानो नागरिक समारोहबीच विवाह गरे
विवाहको केही महिना पछि २००५ मा करिब २१ वर्षीय ह्यारीले कमिलालाई एक “अद्भुत महिला” को रूपमा वर्णन गर्दै उनले आफ्नो बुबालाई धेरै खुसी बनाएको बताएका थिए।
“विलियम र म उहाँलाई धेरै माया गर्छौँ र उहाँसँग हाम्रो सम्बन्ध निकै सौहार्दपूर्ण छ।”
त्यसपछिका वर्षहरूमा यी दाजुभाइले कमिलाप्रति आफ्नो भावना अभिव्यक्त गरेका छैनन्। तर जब विलियम, उनकी श्रीमती क्याथरीन र कमिला सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुन्छन्, त्यहाँ न्यानोपन र निकटता झल्कन्छ जसले कम्तीमा पनि विलियम दम्पतीसँग उनको सम्बन्ध राम्रो छ भन्ने सङ्केत गर्छ।
तस्बिर स्रोत, Getty Images
आफ्ना दुई सन्तान टम र लउरासँग कमिला
तस्बिर स्रोत, Chris Jackson / Getty images
कमिला राजपरिवारकी महत्त्वपूर्ण सदस्य बनिन्
उमेरले मध्य ७० पुगेकी कमिला आफ्नो परिवार र श्रीमान्लाई सहयोग गरेर दिन बिताउँछिन्। कमिलाको विन्डसर परिवारसँगको सम्बन्ध कहिलेकाहीँ समाचारको शीर्षक बन्न सक्छ। यद्यपि सार्वजनिक चासोभन्दा पर उनी पाँच नाति-नातिनीकी एक मायालु हजुरआमा पनि हुन्। उनी अझै पनि विल्टशरको रे मिल भवनमा बस्छिन् जहाँ उनी अक्सर आराम गर्छिन्।
उनको भतिजा बेन इलियटले भ्यानिटी फेयर म्यागेजिनसँगको कुराकानीमा भनेका छन्, “उनको परिवार धेरै आत्मीय र सहयोगी छ। साथै उनको पुराना र निकट साथीहरूको पनि समूह छ। उनी आफ्ना श्रीमान्, छोराछोरी र नातिनातिनालाई असाध्यै माया गर्छिन्।”
यसका अतिरिक्त कमिलाले उनलाई आनन्दित तुल्याउने क्षेत्रहरूमा पनि आफ्नो छाप छोडेकी छन्:
- ओस्टियोपोरोसिसको (हड्डी कमजोर हुने र खिइने रोग) बारेमा मानिसहरूलाई शिक्षित गर्ने जुन रोगबाट उनकी आमा र हजुरआमा पीडित थिए
- बलात्कार, यौन दुर्व्यवहार र घरेलु हिंसाजस्ता संवेदनशील मुद्दाहरूमा सर्वसाधारणको ध्यान आकर्षित गर्ने
- आफ्नो बुवाबाट पाएको किताबप्रतिको मोहलाई इन्स्टाग्राममा बुक क्लब सुरु गरेर सबैमाझ साझा गर्ने
जनचासो र ध्यानाकर्षणले गर्दा सायद उनले केही असहज महसुस गरेको हुनुपर्छ किनकी तुलनात्मक रूपमा उनी निकै पछि मात्र राजपरिवारको सदस्य बनेकी थिइन्।
जब म समाचार सङ्कलनको क्रममा क्लेरेन्स हाउसमा एक परोपकारी कार्यक्रममा गएँ, मैले त्यतिबेला डचेसलाई देखेको थिएँ। उनी सबैजना तयार छन् भनी सुनिश्चित गर्न भव्य सिँढीमा बसेर कुनामा भएका मानिसहरू नियालिरहेकी थिइन्। तल ओर्लेर उनले परोपकारी संस्थाका सीईओलाई हामी निकै खुसी भएको जनाउँदै उत्साहपूर्वक अँगालो हालेर चुम्बन गरिन्।
डचेसले लकडाउनको समयमा आफ्ना नाति-नातिनीहरूलाई “अङ्गालोमा बेर्न” नसकेकोमा दुःख व्यक्त गरेकी थिइन्। निषेधाज्ञाहरू खुकुलो भएसँगै आफूलाई शारीरिक क्रियाकलापसहित अभिव्यक्त गर्न पाउँदा उनी स्वाभाविक रूपमा हर्षित देखिन्थिन्।
तस्बिर स्रोत, Getty Images
सार्वजनिक कार्यक्रमहरूमा चार्ल्स र कमिला प्राय सँगै हाँसेका देखिन्छन्
उनलाई मानिसहरूको समूहसँग अन्तरक्रिया गरेको देख्दा लाग्छ उनी स्पष्ट रूपमा मानिसहरूलाई सहज बनाउन सक्छिन्। प्रस्तुतीकरणको दौरान आफूलाई बेचैनी हुने तथ्य उनले कहिल्यै लुकाइनन् तर समयसँगै उनको आत्मविश्वास बढ्दै गएको छ।
चार्ल्स र कमिलाको विवाह भएको १७ वर्ष बितिसकेको छ। उनीहरू स्पष्टसँग सार्वजनिक रूपमा जोडिएका छन्। कुनै क्षणमा उनीहरूले व्यक्तिगत रूपमा ठट्टा नगरेको कार्यक्रम विरलै हुन्छन् – चाहे एकअर्कालाई हेरेर होस् या सँगै हाँसेर।
“उनीहरू एकअर्कालाई निकै माया र आदर गर्छन् र एउटै कुरामा सँगै हाँस्छन्”, इलियटले भ्यानिटी फेयर म्यागेजिनलाई बताए।
उनीहरू कठोर निगरानीमाझ विलासी जीवन बिताउँछन् र यस्तोमा दबाव तीव्र हुन सक्छ।
आफ्नो विवाहको दशौँ वर्षगाँठअघि राजकुमार चार्ल्सले सीएनएनसँगको अन्तर्वार्तामा भनेका थिए, “तपाईँको छेउमा कोही हुनु राम्रो कुरा हो। म ईश्वरप्रति धन्य छु कि उनी मेरा लागि ठूलो साथ हुन् र उनले जीवनको रमाइलो पाटो देख्छिन्।”
उनीहरूको सम्बन्धबारे बोल्दै कमिलाले भनिन्, “यो कहिलेकाहीँ रातमा पार गर्ने जहाजहरू जस्तै छ। यद्यपि हामी सधैँ सँगै बसेर चिया पिउँछौँ र दिनको बारे छलफल गर्छौँ। हामीसँग एउटा पल छ।”
राजाको भूमिकामा धेरै एक्लोपन चाहिन्छ। त्यसैले कमिलालाई छोड्न चार्ल्सको अनिच्छा उनको अनुभूतिबाट उत्पन्न भएको हुन सक्छ – कि कमिला मात्र एक त्यस्तो व्यक्ति हुन् जसले उनलाई आफ्नो भूमिका निभाउँदा आवश्यक पर्ने साथ दिन सक्छिन्।
[ad_2]



