सुदूरपश्चिम प्रदेश: बेरोजगार जनताको प्रश्न- चौकीदारी गरेका मुख्यमन्त्री खै?

0
169

[ad_1]

  • स्वेच्छा राउत
  • बीबीसी न्यूज नेपाली, धनगढी

प्रागराज जोशी
तस्बिरको क्याप्शन,

प्रागराज जोशी

भारतमा चौकीदारी गरे बापत हातमा पर्ने पैसाले प्रागराज जोशीको घर चलेको छ। बीस हजार मासिक तलबबाट पुग नपुग पाँच हजार रुपैयाँ मात्र आफू खर्च गर्छन्। बाँकी कैलालीको भजनी नगरपालिका वडा नं ४ स्थित घरमा रहेकी श्रीमतीको नाममा पठाउँछन्।

त्यही पैसाले घरको चुल्हो बल्छ। केही समय अघिसम्म त छोराछोरीलाई पढाउन समेत पुग्थ्यो। अहिले महँगी बढेको छ। छोराछोरीको पढाइको खर्च पनि बढेको छ। त्यसैले पत्रकारितामा स्नातक तह गरिरहेकी छोरी र सिभिल इन्जिनियरिङ गरिरहेको छोरालाई पढाउन चौकीदार बुवाको तलबले पुग्दैन। छोराछोरी कक्षा चढेसँगै जोशीको ऋण पनि चढ्दै गएको छ।

“उधारो गरेरै भए पनि पढाउनु त पर्‍यो, नत्र उसलाई पनि भारत लगेर गल्ली वा होटलमा काम लगाउनु पर्छ। त्यसो गर्न मन कसरी मान्छ र?,” उनले प्रश्न गर्दागर्दै जोड जोडले सिट्ठी बज्छ। जोशी बेपर्बाह कुद्छन्।

गत भदौ १३ गते, दश दिन लामो छुट्टी सकेर पुनः भारत फर्किन लागेका जोशी धनगढी नजिक नेपाल-भारत सीमा गौरीफन्टामा भेटिएका हुन्।

त्यहाँबाट भारतको पलिया हुँदै दिल्लीसम्म पुग्ने बस छुट्छ कि भन्ने चटारोमा रहेछन् उनी। काँधमा सकिनसकी बोकेको झोला लगेर झ्याल छेउको सिटमा राखेपछि बल्ल उनले राहतको सास फेरे अनि आफू नजिक आउने इशारा गरे।

“३० वर्ष भयो आदर्श नगरमा नोकरी गरेको, अब जति वर्ष उधारो तिरेर सकिँदैन त्यति नै वर्ष परिवारसँग दसैँ मनाउन पाउँदिन,” उनले हिन्दी मिसिएको लवजमा आफ्नो व्यथा सुनाए।

केही हुन्छ कि भन्ने आशामा पाँच वर्षअघि आफू चुनावमा भोट हाल्नकै लागि रकम खर्चेर नेपाल आएको सम्झिने उनले अब भने सरकारले आफूहरू भारत पस्तुपर्ने बाध्यता अन्त्य गरिदिने आशा मारिसके।

तस्बिरको क्याप्शन,

प्रागराज जोशी

यस पटक चुनाव आउँदा भने उनी भारत पस्दैछन्। भलै गौराको मुखैमा देश छोडेका उनलाई यस वर्ष पनि दसैँ परिवारसँग मनाउन नपाउनुको पीडा रहेछ। ४८ वर्षीय उनलाई अझै कति वटा दसैँमा छोराछोरीलाई टीका लगाएर आशीर्वाद दिन नपाइने हो थाहा छैन।

तर, आफूले हरेक दिन एउटै कामना गरिरहेको बताउँछन्- ‘छोराको पढाई सकिना साथ नोकरी मिलोस्। हाम्रो पुस्ताको त जिन्दगी बिग्रियो। छोराको जिन्दगी नबिग्रोस्।’

दिल्लीमा चौकीदारी गर्न, मुम्बईमा होटलमा भाडा माझ्नदेखि हिमाञ्चल प्रदेशमा स्याउको भारी बोक्न र ‘काला पहाड’मा बाटो खन्न हिँडेकाहरूमध्ये प्रागराज जोशी एक हुन्।

निधारमा रातो टीका, काँधमा झोला अनि आँखामा थोरै उदासी बोकेका उनीहरूलाई भारत गएपछि आधा अभाव कम हुन्छ भन्ने लाग्छ।

भारत जानेमा महिलापुरुष सरोबरी

यसरी भारत जानेहरूको लर्कोमा महिलाहरू पनि प्रशस्तै भेटिन्छन्।

सुदूरपश्चिम प्रदेशकी सांसद चुनकुमारी देवी चौधरीका अनुसार विशेषगरी सीमान्तकृत समुदायका पुरुषहरू काम गर्न नसक्ने अवस्थामा भएका महिलाहरू काम खोज्दै भारत जाने गरेका छन्।

“कमाएर ल्याउने कोही छैन भने अथवा श्रीमान अपाङ्गता भएका हुन् वा जाँडरक्सी खान्छन् भने ती महिला भारत जान बाध्य हुन्छन्। प्रदेशमा त उनीहरूका लागि अवसर छैन,” एकीकृत समाजवादीकी नेता चौधरीले भनिन्।

दश वर्षीय छोरालाई सासूको जिम्मा लगाएर हिँडेकी ३२ वर्षीय जुग्मानी चौधरीलाई चाहिँ छोराले बोर्डिङ स्कुलमा पढ्न पाउँछ कि भन्ने आशा रहेछ।

तस्बिरको क्याप्शन,

दुरा चौधरी

बहुनियाबाट हिँडेकी उनलाई आफू कहाँ जाने हो थाहा छैन। सँगै हिँडेका श्रीमान् राजन चौधरीले भनेका छन्: ‘हामी बैङ्गलोर जाने हो।’

“आफन्तले ‘अलिअलि पैसा हुन्छ आऊ’ भनेर बोलाउनु भएको हो। जे काम भेटिन्छ त्यही गर्ने हो,” चौधरी बोलिन्।

बाध्यताको कथा प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरावासीको पनि उस्तै छ। जोगबुढा गाउँपालिकाकी ३० वर्षीय दुरा बोहरा स्वास्थ्य स्वयं सेविका हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

निर्वाचन आयोग भन्छ: ‘आसन्न निर्वाचनमा विदेशमा रहेका नेपाली स्वदेशमा मतदाता बन्न सक्दैनन्’

भदौको सुरुवातमा धनगढीस्थित एक निजी अस्पतालका चिकित्सकले उनको मुटुमा समस्या भएको बताएपछि उनले उपचारको प्रक्रियाबारे बुझिन्। नेपालमा उपचार आम्दानीले नधान्ने थाहा पाइन्।

“खाने लाउने खर्च श्रीमानले इन्डियाबाट पठाउनु हुन्छ। त्यति पैसाले दवाई किन्न पुग्दैन। म पनि गएर केही काम गरुँला, पैसा कमाउँला अनि डाक्टर देखाउँला भनेर हिँडेकी हुँ,” बोहराले भनिन्।

काखे छोरी च्यापेर हिँडेकी दुरालाई लिन १० वर्षदेखि बैङ्गलोरको एक होटलमा काम गर्दै आएका उनका देवर आएका रहेछन्।

उहीँ पृष्ठभूमिका मुख्यमन्त्री

कुनै बेला यी प्रतिनिधि पात्रहरूले जस्तै परिस्थिति भोगेका थिए सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि। अहिले प्रदेशको वेबसाइटमा राखिएको परिचयात्मक विवरणमा भट्टको “भारतमा नोकरी गर्न गएको” कुरा पनि उल्लेख गरिएको छ।

डोटी जिल्लाको फलेडी गाउँमा जन्मिएर हुर्किएका उनले आर्थिक अभावकै कारण पढाइलाई निरन्तरता दिन पाएनन्। पढ्न नपाए पनि पेट त पाल्नु पर्‍यो! त्यसैले रोजगारी खोज्दै गाउँ छोड्ने युवाको लर्कोमा मिसिएर उनी पनि भारत पसे।

तस्बिरको क्याप्शन,

दुरा बोहरा

“हिजोको दिनमा सुदूरपश्चिमका अधिकांश मानिसहरू भारत जानु पर्ने बाध्यता थियो। म पनि त्यही बाध्य पुस्ता हुँ,” भट्टले बीबीसीसँग भने।

आफूले केही वर्ष पन्जाबमा चौकीदारी गरेको र त्यसपछिका केही वर्ष महाराष्ट्रस्थित एक फलामको सामग्री उद्योगमा कामदार रहेर उनले जीवनको महत्त्वपूर्ण १६ वर्ष भारतमा बिताएको सुनाए।

त्यही बसाइका क्रममा आफूमा राजनीतिक चेत विकास भएको र परिवर्तनका लागि विद्रोह गरेको उनको भनाइ छ।

“फलामको कारखानामा श्रमिक र रोजगारदाताबीच द्वन्द्व भयो। म श्रमिकहरूको प्रतिनिधि बनेँ र हाम्रो हक/अधिकारका लागि आन्दोलनमा होमिएँ। त्यहीँ हो मैले मजदुरका लागि लड्नु पर्छ भन्ने सिकेको,” भट्टले त्यसपछि नै आफू कम्युनिस्ट राजनीतिमा लागेको सुनाए।

२०४२ सालमा भारत पुगेका उनी २०४७ सालको सुरुवाती दिनमै अखिल भारत नेपाली एकता समाजको सदस्य भए।

‘आफूले भोगेका समस्या अरू नेपाली युवाहरू भोग्नु नपरोस् भनेर तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र सङ्घर्षमा लागेको’ उनको भनाइ छ।

उनले मुख्यमन्त्रीको शपथग्रहण गर्दा समेत सार्वजनिक रूपमा त्यस्तै अठोट व्यक्त गरेका थिए।

रोजगारीको वचन

प्रदेशमै रोजगारी सृजना गर्नु आफ्नो पहिलो उद्देश्य रहेको बताउँदै उनले बीबीसीसँग भनेका थिए, “आफैँले पनि त्यो पीडा भोगेर आएको हुनाले आफ्नो देशका युवाले विदेशमा गएर त्यो पीडा भोग्न नपरोस् भन्ने सोचका साथ मैँले राजनीतिमा हामफालेको हो।”

उनको बोलीका कारण धेरै मानिसमा रोजगारी र अवसरको आशा अङ्कुराएको थियो। तर, प्रदेश सरकारको साढे चार वर्ष बितिसक्दा मानिसहरू निराश भएको पाइन्छ।

सुदूरपश्चिममै रहेका भारतीय सीमाहरूमा विदेसिने मानिसहरूको भिड कम भएको छैन। मानिसहरूसँग अझै धेरै प्रश्नहरू छन्।

तस्बिरको क्याप्शन,

त्रिलोचन भट्ट

डडेलधुराकी दुराका देवर सरोज बोहरा प्रश्न गर्छन्, “काम दिन्छु त कति भन्छन् भन्छन्। तर कहिले दिन्छन् त खोइ?”

मुख्यमन्त्री भने आफूले रोजगारी सृजनाको निम्ति पर्याप्त काम गरिरहेको दाबी गर्छन्। विकास निर्माणसँग रोजगारीलाई जोडेको उनी बताउँछन्।

“गाउँ गाउँमा पुगेका योजनाहरू र कृषि कर्ममा रोजगारीलाई जोडेँ। अस्थायी रोजगारी सिर्जना गरेँ। युवालाई कृषि, पर्यटन र स्वरोजगारसँग जोड्ने प्रयासको परिणाम राम्रै भयो,” भट्टले दाबी गरे।

“त्यस्तै पैसा नभएकाहरूलाई कृषि ऋणमा ब्याज अनुदान अघि बढाएको छु। त्यसका लागि सहकारी छनौट भइरहेको छ। बिस्तारै व्यक्तिलाई पनि बिना धितो ऋण दिएर व्यवसायमा प्रेरित गर्ने काम गर्छौँ। त्यो प्रयास पूर्ण रूपबाट सफल नभए पनि यसको सुरुवात त गरेका छौँ नि,” उनले भने।

प्रत्यक्ष रोजगारी दिन नसके पनि सीपमूलक तालिममा पनि आफूले जोड दिएको उनले बताए।

निराशा र प्रश्नै-प्रश्न

तर, बिहान बेलुका छाक टार्न आफूहरू दीर्घकालमा मात्र परिणाम देखिने तालिमहरूमा निर्भर हुन नसक्ने प्रागराज जोशीको विचार छ।

भन्छन्, “हाम्रो मुख्यमन्त्रीले नै चौकीदारी गर्नु भएको भन्ने मैले पनि सुनेँ। तर उहाँ खै? हाम्रो समस्या, मर्म बुझेको खै?”

तस्बिरको क्याप्शन,

मुख्यमन्त्री त्रिलोचन भट्ट

“उहाँ पो नेपाल फर्किए पछि पदमा पुग्नु भयो। हामीलाई त तालिम वा दुई चार वटा चल्ला, बाख्रा दिइन्छ। ती मर्छन् अनि सकिन्छन्। बेकार सरकारको लगानी नि खेर गएन?”

मुख्यमन्त्री भने यी र यस्ता प्रश्नलाई सत्तामा रहनेहरू विरुद्धको “स्वाभाविक आलोचना”को रूपमा लिन्छन्।

मानिसहरूले श्रमको सम्मान नगरेका कारण प्रदेशमा सिर्जित अवसरहरूतर्फ कसैको ध्यान नगएको उनले जिकिर गरे।

“श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नु छ। म स्वयंले दुई पटक चुनाव हारेपछि खेती किसानी गरेँ। पार्टीले मुख्यमन्त्री बनाउनुअघि मलाई केही कार्यकर्ताले प्रश्न गरे- तपाईँको पछि लागेर के हुन्छ? भनेर।”

तथ्याङ्क छैन

नेपालीले भारतमा जे पनि गर्ने र उता बगैँचा, होटल, कारखानामा न्यून शुल्कमा काम गर्ने भए पनि नेपालमा त्यसो नभएको भट्ट बताउँछन्।

“जागिर मात्र होइन व्यवसाय गर्न प्रेरित हुनु पर्‍यो। पैसा भएको मानिसको छोराले पनि व्यवसाय गर्नेबारे सोच्दैन, जागिर खोज्छ। त्यसैले पनि धेरै रोजगारी सिर्जना नभएको हो।”

भारत जानेहरूलाई रोक्न आफ्नै प्रयास रहेपछि खुला सीमा भएका कारण शत प्रतिशत रोक्न गाह्रो भएको उनको कथन छ।

तस्बिरको क्याप्शन,

राजन चौधरी

वर्षौँदेखि खुला क्षेत्र हुँदै हजारौँ नेपाली भारत पुगेका छन्। यद्यपि, जानेहरूबारे यकिन तथ्याङ्क नभएको बताउँछन् सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्का।

उनका अनुसार विभिन्न नाकाबाट ठूलो सङ्ख्यामा मानिसहरू आवतजावत गर्ने भएकाले “खुला सीमा हुँदै ठ्याक्कै कति मानिस बाहिरिन्छन् भन्ने थाहा हुँदैन।”

त्यही नगनिने मानिसहरूको भिडमा भेटिएका राजन चौधरीसँग चित्त दुखाई छ – “नेपालमा अरूको गाडी चलाउँदा तलब त मिहेनत अनुसार भएन, अपमान धेरै सहनु पर्‍यो। भारतमा कमसेकम काम बराबर पैसा त हुन्छ।”

चौधरीजस्ता सयौँ नागरिकहरू दिनहुँ भारत पसिरहेका छन्। ती त्यही प्रदेशका मतदाता पनि हुन् जहाँका मुख्यमन्त्री कुनै बेला भारतमै चौकिदारी गरेका थिए। तर अहिले पनि चौकिदारी गर्न बाध्य र मुख्यमन्त्रीबीच रोजगारीप्रति र त्यसबारे सरकारको नीतिप्रति बुझाइमा ठूलो खाडल देखिन्छ।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here