कपिलवस्तु, ३१ असार ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-७, घरुवा बनगाईमा आधुनिक सुविधा सम्पन्न ब्युटि नेस्ट सलुन एण्ड स्टुडियो सञ्चालनमा आएको छ । करिब ३५ लाख रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको सलुनले एकै स्थानबाट सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
सलुन सञ्चालक सावित्रा सुवेदीले पछिल्ला दुईदेखि तीन वर्षसम्म सौन्दर्य क्षेत्रमा अनुभव हासिल गरेपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने सपना साकार भएको बताउनुभयो । उहाँका अनुसार ग्राहकको आवश्यकता र समयको मागलाई ध्यानमा राख्दै हेयर कट, हेयर स्टाइलिङ, मेकअप, स्किन केयर, ब्राइडल प्याकेज लगायत आधुनिक ब्युटि सेवाहरू एकै स्थानबाट उपलब्ध गराइनेछ ।
सुवेदीले सेवा प्रवाहसँगै दक्ष जनशक्ति उत्पादनमा पनि जोड दिइएको जानकारी दिनुभयो । सौन्दर्य क्षेत्रमा भविष्य बनाउन चाहने इच्छुक व्यक्तिहरूका लागि व्यावसायिक तालिमको व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले तालिम मार्फत सीप सिकेर आत्मनिर्भर बन्न चाहनेलाई अवसर प्रदान गरिने बताउनुभयो ।
स्थानीय स्तरमै गुणस्तरीय र आधुनिक सेवा उपलब्ध भएपछि ग्राहकलाई सहज हुने विश्वास व्यक्त गर्दै सञ्चालक सुवेदीले सेवा, गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गरिने बताउनुभयो । नयाँ सलुन सञ्चालनमा आएसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै सौन्दर्य सेवा क्षेत्रको विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।




